अल्डरसट । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेक यही १२ अप्रिलमा हुने नेपाली नयाँ वर्ष कार्यक्रममा प्रस्तुति दिन गायिका पवित्र गुरुङ बेलायत आएकी छन् ।
आधुनिक भर्सटाइल गायिका पवित्र ९ अप्रिल २०२५ मा बुधबार लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका छन् । उनलाई विमानस्थलमा जीआरएनसीका अध्यक्ष मान गुरुङ, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा शर्मिला बिसी, अनुपा रोका मगरले पनि प्रस्तुति दिने कार्यक्रम छ । यस वर्ष पनि नेपालका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
कार्यक्रम जीआरएनसीका उपाध्यक्ष एवं कार्यक्रम कोअर्डिनेटर डा. विशाल गुरुङले संयोजन गरिरहेका छन् । कार्यक्रम साँझ ६ देखि ११ बजेसम्म एम्पायर हल अल्डरसटमा हुनेछ । कार्यक्रममा स्थानीय समाजसेवी, युवा उद्यमी व्यवसायी, राजनीतिज्ञसहित सबै क्षेत्रका व्यक्तित्वको उपस्थिति रहनेछ ।
कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको छ । यूके र नेपालमा विपन्न बालबालिका, युवा र वृद्धहरूको सहायतामा खर्च हुनेछ । कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र हौसला बढाइदिन पनि जीआरएनसीले अनुरोध गरेको छ ।
संस्थाले सन् २००३ देखि नै ख्यातिप्राप्त कलाकारका साथ नयाँ वर्ष मनाउने परम्परा सुरु गरेको थियो ।