लन्डन । ४० औं वार्षिकोत्सव मनाउन नेपालको राजधानी काठमाडौंमा रहेको गोर्खाज् इन्टेक १९८५ को टोली टेलिभिजन कार्यक्रम इन्द्रेणीमा सहभागी भएको छ ।
अध्यक्ष लालबहादुर लिम्बुको नेतृत्वमा शुक्रबार इन्द्रेणीको कार्यालयमा पुगेको हो । टोलीले ३ वटा इपिसोडमा छायांकनसमेत गरेको छ भने २ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको थियो ।
अध्यक्ष लालबहादुर लिम्बु र ४० औं वार्षिकोत्सवका संयोजक शेरबहादुर सुनारले संस्थाको तर्फबाट दिनदुखीको सहयोगका लागि १ लाख र इन्द्रेणी कार्यक्रम व्यवस्थापनका लागि १ लाख रुपैयाँ सहयोग सञ्चालक कृष्ण कँडेललाई प्रदान गरेका हुन् । त्यस्तै इन्टेकको तर्फबाट मायाको चिनो र प्रमाणपत्रसमेत प्रदान गर्दै इन्द्रेणीका कलाकार, बाद्यवादक, सञ्चालकलगायत परिवारलाई नै खादा लगाइदिएर सम्मान व्यक्त गरिएको थियो । उक्त अवसरमा चर्चित गायक राजु परियार, गायिका मनमाया वाइबालगायत उपस्थित थिए ।
यस्तै स्व.कैलाश बाखिमकी श्रीमती युव बाखिमले पनि स्व सासु, बाआमाको नाममा १ लाख रुपैयाँ इन्द्रेणी कार्यक्रमका लागि सहयोग प्रदान गरिन् । केही नम्बरीहरुले समेत इन्द्रेणीलाई सहयोग दिएका महासचिव विजय गुरुङले जानकारी दिए ।

इन्द्रेणीका सञ्चालक कँडेलले शुक्रबार गोर्खाज् इन्टेक १९८५ को जम्बो टिमको उपस्थितिमा इपिसोड छायांकन गर्न पाएकोमा ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गरे ।
अध्यक्ष लिम्बूले पनि इन्द्रेणीले दिएको सहभागिताको मौकाका लागि धन्यवाद दिँदै इन्द्रेणी कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गरे । इन्द्रेणी कार्यक्रममा गोर्खाज् इन्टेकलाई सहभागिताको तारतम्य पूर्वअध्यक्ष राजेन्द्र क्षेत्रीले मिलाएका थिए ।
यसैबीच गोर्खाज् इन्टेक १९८५ ले शनिबार काठमाडौंको सोल्टी होटलमा ४० औं वार्षिकोत्सव धुमधामसँग मनाउँदै छ । दिउँसो २ बजेबाट अनौपचारिक र ४ बजे औपचारिक कार्यक्रम प्रारम्भ हुने जनाइएको छ । कार्यक्रम मध्यरातसम्मै जारी रहने छ । शुक्रबार नै होटलमा चेक इन् गरिएको थियो ।
गोर्खाज् ईन्टेक १९८५ ले आफ्नो जन्मभूमिलाई सम्मान गर्दै पहिलो पटक नेपालमा आफ्नो परिवारका साथ ४० औं वार्षिकोत्सव मनाउन लागेको हो ।






