पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा मंगलबार २४औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आयोजक टोली सुशील लामाको कप्तानीमा मैदानमा उत्रिँदै छ भने पुलिसको कप्तानी राम वाजीले गर्नेछन् । आहा–रारा गोल्डकपमा पुलिस र सहाराबीच हालसम्म पाँचपल्ट भेट भएको छ । जसमा पुलिस अपराजित छ ।
प्रतियोगितामा यस पटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थन्डरबोल्ट नर्थ युनाइटेड भारत, ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् ।
विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् । आहा रारा पोखरा गोल्डकपबाट बचत हुने रकम आयोजक सहाराले क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा ३० जना बालक आश्रित छन् ।