लन्डन । नेपालबाट आएका कलाकारहरु शितल गुरुङ र बिमला गुरुङलाई न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले स्वागत, सम्मान गरेको छ ।
शितल र बिमलालाई न्यू लक्ष्मी ज्वेलर्समै डाकेर शुक्रबार २७ डिसेम्बर २०२४ मा सञ्चालक एवं समाजसेवी लक्ष्मी राईले बुकी र मायाको चिनोसहित स्वागत, सम्मान गरेकी हुन् ।
सोही अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई नयाँ वर्ष र क्रिसमसको शुभकामनासहित प्रोपाइटर राईले सम्मान गरिन् ।
कलाकारद्वय शितल र बिमलाले आफूहरुलाई सम्मान र माया दिएकोमा धन्यवाद दिए । उनीहरुले नेपाल छँदै न्यू लक्ष्मी ज्वेलर्सले कलाकारलाई माया र सम्मान गरेको थाहा पाएको उल्लेख गर्दै आज आफूहरु नै त्यसको हिस्सेदार बन्न पाएकोमा खुसी व्यक्त गरे । साथै उनीहरुले आगामी दिनमा सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षासहित व्यवसायी तथा समाजसेवी राईलाई धन्यवाद र आभार प्रकट गरे ।
शितल र बिमला गोरखा जिल्ला गुरुङ समाज यूकेको यस वर्षको ल्होछार कार्यक्रमका लागि बुधबार राति बेलायत आएका हुन् । उनीहरुले शनिबार २८ डिसेम्बरमा फोल्क्टोन, केन्टमा हुने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम २०२५ मा प्रस्तुति दिनेछन् ।
उनीहरुको साथमा गायिका हरिमाया गुरुङ, रेजिना परियारले समेत मनोरन्जन दिलाउने गोरखा गुरुङ समाजका अध्यक्ष टेकमान गुरुङले बताए । उनका अनुसार कार्यक्रम दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म चल्नेछ ।
कार्यक्रममा सहभागी हुन वयस्कलाई २५ पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १२ पाउन्ड शुल्क तोकिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मितिका आधारमा पुस १५ मा मनाइने तमु ल्होछार देश विदेशमा मुख्य दिनको अघि पछि पनि हुने गरेको छ । तमु (गुरुङ) समुदायले यस वर्ष मुप्रि ल्हो (गिद्द वर्ग) को बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) ल्हो को स्वागत गरी ल्होछार मनाउँदै छन् ।