लन्डन। कमलादेवी गुरुङको जन्म वि.सं. २०२५ सालमा भारतको उत्तर प्रदेश, बिहारमा भएको थियो। उनका पिता स्व. सुबेदार मेजर ईश्वरबहादुर गुरुङ भारतीय गोर्खा सेनामा कार्यरत थिए भने आमा स्व. सुनादेवी गुरुङ थिइन्। दुई छोरापछि जन्मेकी कान्छी छोरी कमला दुई वर्षको उमेरमा नेपाल फर्किइन्।
उनी पर्वतको मोदी गाउँपालिका–८, चित्रे गाउँमा हुर्केकी हुन्। प्रारम्भिक शिक्षा गाउँको जनसिद्ध निम्न माध्यमिक विद्यालयबाट हासिल गरी वि.सं. २०४२ सालमा पशुपति उच्च माध्यमिक विद्यालय, राम्जाठाँटी, पर्वतबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्।
कमलाको पारिवारिक पृष्ठभूमि सैनिक र नेतृत्वमा आधारित थियो। उनका बाजे सुबेदार मनप्रसाद गुरुङ, पिता सुबेदार मेजर ईश्वरबहादुर गुरुङ र काकाहरू मेजर बज्रबहादुर गुरुङ तथा लेफ्टिनेन्ट प्रेमबहादुर गुरुङ थिए। दाजुहरू मेजर जनरल उमेश गुरुङ र लेफ्टिनेन्ट जनरल चित्रबहादुर गुरुङ हुन्। मावलीतर्फ मामा शेरबहादुर गुरुङ प्रधानपञ्च थिए । मामाको शेषपछि सोल्टी गोपाल गुरुङ पनि प्रधानपञ्च भएका थिए । परिवारका अन्य सदस्य पनि नेपाली र भारतीय सेनामा उच्च पदमा कार्यरत थिए। यस्तो वातावरणले कमलामा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास गरेको थियो।
कमलाले सन् १९८४ मा ब्रिटिस गोर्खा सैनिक जुमकाजी गुरुङसँग विवाह गरी हङ्गकङ्ग गएकी थिइन्। त्यसपछि उनी परिवारसहित बेलायतको फार्नबोरोमा स्थायी बसोबास गरेको लामो समय भइसकेको छ।
कमलाले सन् २०१३ बाट तमु धीं यूकेमा आबद्ध हुँदै आमा समूहमा सक्रिय भूमिका निभाउन थालिन्। ६ वर्षसम्म आमा समूहको उपाध्यक्ष रहेर काम गर्दा उनले विभिन्न च्यारिटी कार्यक्रम, नेपाली मेला, गोर्खा कप र सामुदायिक कार्यक्रममा नेतृत्वदायी भूमिका निभाइन्।
प्रत्येक वर्ष हुने ‘क्यान्सर रिसर्च यूके रेस फर लाइफ’मा सहभागी भई करिब २० हजार पाउन्डभन्दा बढी रकम संकलन गरेकी छिन्। उक्त रकम क्यान्सर अनुसन्धानमा प्रदान गरिएको छ। सामाजिक च्यारिटीका क्षेत्रमा उनले लगनशीलता, परिश्रम र समर्पण देखाएकी छन्।
हाल तमु धीं यूकेको महिला उपाअध्यक्षको भूमिका निर्वाह गर्दै कमलाले नेपाली समुदायको सांस्कृतिक, शैक्षिक र परोपकारी गतिविधिमा सक्रिय योगदान दिँदै आएकी छन्। न्यानो ल्होछार, छात्रवृत्ति कार्यक्रम र विभिन्न सांस्कृतिक गतिविधिमा उनको नेतृत्वदायी भूमिका रहने गरेको छ।
कमलालाई वकिङ, रनिङ र संगीत सुन्न मन पर्छ। विद्यार्थी जीवनमा उनी खेलकुदमा समेत सक्रिय थिइन्। श्रीमानसँग सहकार्य गर्दै जीवनलाई ‘एक रथका दुई पाङ्ग्रा’को रूपमा अघि बढाउन उनी परोपकारी सेवामा निरन्तर लागिरहने अठोटका साथ अगाडि बढेकी छिन्।
परिवारमा श्रीमान् जुमकाजी गुरुङ, छोराछोरी, ज्वाइँ र नातिनातिनी रहेका छन्। परिवारकै साथबाट प्रेरणा लिँदै कमला सामाजिक सेवा र नेतृत्वमा सक्रिय छिन्।
तमु धीं यूकेकी महिला उपाध्यक्षको रूपमा कमलादेवी गुरुङ नेपाली समुदायको प्रेरणादायी नेतृत्वकर्ता हुन्। उनको समर्पण र परोपकारी सेवाले नेपाली महिलालाई नेतृत्व र सामाजिक सेवामा अघि बढ्न प्रेरणा दिएको छ।