लन्डन । लन्डनमा सुमधुर स्वरका धनी गायक ब्रबिम शेर्मा र उदयमान गायिका गंगा फियाकले याक्थुङका विभिन्न पालम तथा नेपाली भाषाका गीत गाएर संगीतका पारखीहरूलाई मन्त्रमुग्ध पारेका छन् ।
गोल्डेन सीप साउथ ह्यारो, लन्डनमा २२ डिसेम्बरमा स्थानीय स्वयंसेवक/सेविकाले आयोजना गरेको सुमधुर सांगीतिक साँझमा स्टेजमा नै गएर गीतको तालमा नाच्नेको भीड थियो ।
सुरुआतमा ज्येष्ठ नागरिक तथा समाजसेवी असारसिंह आङ्बुहाङले नेपालबाट बेलायत भ्रमणमा आएका गायक र गायिकालाई खादाले स्वागत एवं सम्मान गरेका थिए ।
कोष र कलाकार सत्कारको अभिभारा राजेन्द्र नाल्बो, जसराज चेमजोङ, उषा लिङ्देनर बुद्धमाया इजमले लिएका थिए । किशोर आङदेम्बेले उद्घोषक र डीजेको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा रन तावा, रुमी तावा, मानबीर लावती, टंक तुम्बाहाङ, किरात याक्थुङ चुमलुङ यूकेकी पूर्वउपाध्यक्ष मीरा आङ्बुहाङ, गंगा सुब्बा, सकुन सुब्बा, टीका चेमजोङ, दिनेश लिङ्देन, भक्ति आङदेम्बे (कि.या.चु. यूके आर्टिस्ट अफ द यियर- २०२३), रेसु फियाक, रुद्र कुरुम्फोङ, तेज माबो, अशोक सुब्बा, बबिता सुब्बा, राम लुम्फुङ्वा, लुकी थेबे, पूर्ण कुरुम्फोङ, किरात याक्खा छुम्माका पूर्वअध्यक्ष खगेन्द्र याक्खा साथै संखुवासभा जिला यूके समाजका पूर्वअध्यक्ष वसुन्धरा राईको पनि विशेष उपस्थिति थियो ।
अन्त्यमा किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर लन्डन शाखा यूकेका पूर्वअध्यक्ष देव आङ्बुहाङले आयोजकको तर्फबाट दर्शकहरूलाई सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उनले गायक ब्रबिम शेर्मा र गायिका गंगा फियाकलाई धन्यवादका साथै सांगीतिक यात्राका लागि शुभकामनासमेत दिए ।
रमणीय कार्यक्रम राति ९ बजे स्थगित भएको थियो । केही सामूहिक तस्बिर खिचेपश्चात् सबै जना छुट्टिएका थिए ।