लन्डन । पोखरेली मञ्च यूकेले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन बेलायतका लागि मञ्जु गुरूङ राईलाई संयोजकको जिम्मा दिएको छ ।
पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले म्याराथन सफल बनाउन उनलाई सहयोग समितिको संयोजक तोकेको हो । पोखरेली मञ्च यूकेका अध्यक्ष कर्म गुरूङ (केभ)को अध्यक्षतामा सम्पन्न बैठकले भलिबलकी पूर्वराष्ट्रिय खेलाडी एवं समाजसेवी मन्जु संयोजकत्वमा समति गठन गरेको हो ।
गठित समितिमा महेश गुरूङ, मिनप्रसाद गुरूङ, सूर्य गुरूङ रहेका छन् । गठित समितिका सदस्य महेश गुरूङ नेपाल–यूकेका संयोजक हुन् भने मिनप्रसाद गुरूङ तमु धीं यूकेका संस्थापक अध्यक्ष, सूर्य गुरूङ गैर आवासीय नेपाली संघ आईसीसी सल्लाहकार हुन् ।
पोखरा म्याराथनलाई सफल बनाउन यूकेस्थित विभिन्न संघ/संस्थाहरुलाई समेत समेटिएको छ । जसमा पोखरेली मञ्च यूके, तमु धीं यूके, सहारा यूके, बगर भाइ खलक यूके, तमु समाज यूके र राम बजार सोसाइटी यूके रहेका छन् ।
यसैबीच पोखरेली मञ्च यूकेका अध्यक्ष गुरूङले यूकेस्थित सम्पूर्ण खेलप्रेमीहरुलाई १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोगका लागि आग्रह गर्दै फागुन ३ गते हुने प्रतियोगितामा सहभागिताका लागि समेत आह्वान गरेका छन् ।
आयोजक नेपालले छिट्टै बेलायत टिम, अस्ट्रेलिया, अमेरिका, क्यानडा, हङकङ, मकाउ, कोरिया, जापानसँग छलफल गर्दैछ । पहिलो चोटी हाफ म्याराथन महिला तथा पुरुष दौडसमेत हुने जनाइएको छ ।
यसपटक बेलायतबाटसमेत धेरैजना सहभागी हुने आशा गरिएको छ । बैठकले आगामी ४ जनवरी २०२५ मा लन्डन ओटुमा हुने कन्दरा ब्यान्डको कन्सर्टमा सहभागी हुन इच्छुकलाई अनुरोध गरेको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ३ गते शनिबारका दिन हुनेछ । पोखरा म्याराथनलाई नेपाल रन यूकेले समेत सहयोग गर्दै आइरहेको छ ।