लन्डन । नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको उपस्थितिमा बेलायतमा 'नर्थहोल्ट टेन के रन’सम्पन्न भएको छ ।
नर्थला पार्क, नर्थहोल्टमा आइतबार २७ अक्टोबर २०२४ बिहान आयोजित 'नर्थहोल्ट टेन के रन' मा ३ सय ८० भन्दा बढी धावक सहभागी भएको कार्यक्रम संयोजक सन्तोष राईले जनाए । कार्यक्रमको सुरुमा इलिङ्ग नर्थबाट निर्वाचित लेबर सांसद जेम्स मरीले शुभकामना दिएका थिए । दौडमा नेपालीबाहेक अन्य समुदायका धावकहरु पनि सहभागी थिए ।
पुरुषतर्फ इलियास अहमदले ३९ मिनट २९ सेकन्डमा १० किमि दौड पूरा गरेर पहिलो भए भने महिलातर्फ फ्रान्सेस्का बुटले ३९ मिनट ४४ सेकन्डमा पूरा गरेर पहिलो भइन् । बिहान ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’पनि आयोजना गरिएको थियो । फार्नबोरोबाट आएका स्कुले छात्राहरुले धावकहरुलाई पानी पिलाउने, फोहर उठाउने जस्ता काम गरेका थिए ।
रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले गरेको थियो । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टेन्ट्स, मम हाउस ३ सय ६५, सहप्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राई यायोक्खा, गोर्खा किचेनलगायत थिए ।
नेपाल रन क्लब विजेतालाई तमु समाज यूकेका संस्थापक अध्यक्ष समाजसेवी चित्रबहादुर गुरुङको हातबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । साथै गुरूङले छोरा स्व. दमन गुरुङको स्मृतिमा ट्रफी प्रायोजन गरेका थिए भने स्वयंसेवकलगायतलाई खाजाको प्रबन्ध मिलाएका थिए ।
कार्यक्रममा नेपाली खानाको स्टल पनि थियो ।
समुदायमा स्वास्थ्य र तन्दुरुस्तीको चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोग साथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा 'हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प' बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापकमध्येका एक पदाधिकारी जगन कार्कीले बताए ।