पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।
मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिवमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।
त्यसैगरी कार्यसमिति सदस्यमा दिनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिं, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बालाकुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहेका छन् ।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्न्वय समितिका प्रमुख लिलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने कुरा औंल्याए । खेलकुद क्षेत्रलाई पर्यटन प्रवर्द्धन संगै यूवा खेलाडी उत्पादन गरी राष्ट्रिय गौरव बढाउने विषयमा समेत सबैको ध्यान जानुपर्ने कुरा औंल्याए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने जनाउँदै परिषदले उनीहरुसँग रहेको विज्ञतालाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए ।
१३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनका अवसरमा मञ्चले तीनजना सम्मान गरेको छ । सो अवसरमा मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र युवा एथ्लेटिक्स खेलाडी बादल कार्की सम्मानित भएका छन् । सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष तेज गुरुङले खेलकुदमा चुनौतीसँगै अवसर रहेकोले यूवाहरुलाई उत्साहित बनाउँदै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु ति आभार व्यक्त गर्दै आगामी दिनमा समेत संस्थाको कार्यलाई जिवन्त बनाई राख्न आफ्नो भूमिका रहि रहने प्रतिबद्धता जनाए ।
सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।