अहिलेकी चर्चित लोकदोहोरी तथा लाइभ दोहोरी गायिका हुन्, टिका सानु । सांगीतिक भ्रमणका क्रममा उनी बेलायत आएकी छन् । बेलायतका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइरहेकी छन् । यसै क्रममा गायिका सानुसँग गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले 'हिँड्दा, हिँड्दै शृंखला'मा गरेको अन्तरंग कुराकानी:
बेलायत आउनुभएको कति भयो ?
११ सेप्टेम्बरमा एक महिना भएको छ । सुनगाभा इन्टरटेन्मेन्टको निमन्त्रणा र न्यु लक्ष्मी ज्वेलर्सको सहयोगमा आएको हो ।कार्यक्रमहरूमा व्यस्त छौँ। खुसी छौँ ।
बेलायत पहिलो पटक हो ?
हजुर, पहिलो पटक आएको हुँ । पहिले विभिन्न कारणले आउन पाएको थिइन । सबै कुरा जुर्नुपर्ने रहेछ । सुनगाभासँग आउन जुरेको रहेछ । उहाँहरूको कारणले पहिलो पटक बेलायत भ्रमण गर्दै छु ।
यहाँको कस्तो भइरहेको छ?
एकदमै राम्रो र रमाइलो भइरहेको छ । मेरो साथमा सुमन परियार दाइ पनि हुनुहुन्छ । दाइ र म बेलायत आउनुभन्दा पहिला हङकङ पनि सँगै गयौँ । यात्राको साथी दाइ पनि राम्रो अभिभावक जस्तै हुनुहुन्छ । हामी खुसीका साथ रमाइरहेका छौँ ।
बेलायत र नेपालबीच के फरक पाउनुभयो?
धेरै फरक छ, बेलायत बेलायत नै हो । नेपाल नेपाल नै हो । धूलो माटो भए पनि आफ्नो देशको धेरै माया लाग्ने रहेछ । मेरो पहिलो पटक लामो समयका लागि विदेशको यात्रा हो । बेलायत विकासका हिसाबले धेरै अगाडी छ । सफा छ । नेपाल त्यस्तो छैन । र पनि आफ्नो देश धेरै प्यारो लाग्छ । नेपाल पनि छिट्टै विकास होस् भन्न चाहन्छु ।
तपाईं लाइभ दोहोरी र लोक दोहोरीका कारण चर्चित हुनुहुन्छ । यता आउँदा चाहिँ लाइभ दोहोरी के भइरहेको छ?
केही कार्यक्रम सुटिङ गरेर आएको थिएँ । त्यो प्रसारण भइरहेको छ । मेरो ‘कथा माइलीको’ टेलिसिरियल छ । यसलाई सबैले माया गरिदिनुभएको छ । यहाँ आएर पनि धेरैले तपाईंको सिरियलको म नियमित दर्शक हुँ, भनेर सुनाउँदा धेरै खुसी लाग्यो । परदेशका सबै दिदीबहिनीहरू ड्युटी गर्नुहुन्छ, र पनि आफ्नो गाउँ र देशको मायाले हाम्रो सिरियललाई पनि हर्नुहुने रहेछ । त्यसैले बेलायतमा बस्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । कार्यक्रमहरू स्टक राखेर आएको छु, त्यही भएर चली नै रहेको छ ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले अफिसियल गीतहरू २५३ वटा हुँदासम्म टिपेको थिएँ । त्यसपछि समय र परिस्थितिका कारण भ्याइन। ३०० भन्दा बढी भयो होला । लाइभ दोहोरी चाहिँ १ हजार कट्यो होला । लाइभ दोहोरी गाउन धेरै मन पर्छ । मलाई यसैले चिनाएको हो । म लाइभ दोहोरीलाई धेरै माया गर्छु । लाइभ दोहोरीले पनि मलाइ धेरै माया गर्छ ।
म्युजिक भिडियोमा पनि खेल्नुभएको छ?
कतिपय म्युजिक भिडियोमा खेलेको छु । आफ्नो सिर्जन सबैमा आफै काम गरेको छु । अन्य आउने प्रोजेक्टहरू पनि गरेको छु । लेखेको, गाएको र नाचेको गरेर नै ३०० पुग्यो होला ।
सांगीतिक यात्रामा कुन-कुन देश पुग्नुभएको छ ?
म २-४ वटा देश गएको छु । दुबई, कतार, हङकङ, इजरायल, जापान र अहिले बेलायत।
सांगीतिक यात्राको क्रममा उत्तर चढाव त आउँछ नै, तपाईंको खुसी र दुःखको क्षण ?
जिन्दगीमा उकाली ओराली भइरहन्छ । सधैँभरी एकनासले न खोला बग्छ न जिन्दगी । जिन्दगीका मोडहरूमा सहज पनि भयो । अप्ठ्यारो पनि भयो । यति हुँदाहुँदै पनि यहाँ आइपुगेकोमा सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु । उहाँहरूकै मायाका कारण म यहाँ छु । मेरो दुःखको कुरा धेरै छ । अहिले पनि दिदी बिरामी हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा पनि कार्यक्रमहरू त गरिरहेको छु, तर दिदीलाई कहिले सन्चो होला भन्ने कुरा दिमागमा खेलिरहेको हुन्छ । परिवारमा सबैजना स्वस्थ भयो भने खुसी लाग्छ । म संसारकै खुसी मान्छे जस्तो लाग्छ । बहिनी पहिले नै बिरामी छिन् । यसले दुःखी बनाउँछ । जिन्दगीका सबै सुख दुःखका कुराहरू यती छोटो समयमा भनेर सकिन्न । यति नै भन्न चाहेँ ।
लाइभ दोहोरीमा तपाईं प्राय दुःखका गीतहरू गाउनुहुन्छ । त्यसमा रुनु पनि हुन्छ, त्यो रियल हो?
अफिसियल गीत गाएर भिडियो बनाउँदा चाहिँ आँसु हाल्ने चलन हुन्छ । तर लाइभमा भने जे हुन्छ लाइभ नै हुन्छ । मान्छेलाई यत्तिकै आँसु झर्दैन । गीतमार्फत धेरै कुरा व्यक्त गरिरहेकी हुन्छु मैले । मान्छेका अनेक पीडा हुन्छन् । सबैभन्दा धेरै म रोएको गीत सुप्रिम मल्लसँग आमाछोरा बनेर गाएको गीत हो । त्यो गीतमा चाहिँ म सानो छँदा आमा विदेश गएको पल सम्झेर आँसु आएको हो । यस्ता धेरै कुरा छन् मेरो मनमा । जुन कुराले चस्स बिझाउँछ, अनि आँसु आउँछ । नाटक गरेर आएको आँसु होइन ।
यो क्षेत्रमा लागेर खुसी हुनुहुन्छ?
एकदम खुसी छु । मलाई कहिले पनि पछुतो लागेन । जीवनमा धेरै संघर्ष गरेर प्राप्त गरेको पेसा हो । यो पेसामा लागेर मलाई चल्नै नसकेको भए पनि पछुतो लाग्दैन ।
नयाँ पिँढीलाई केही सुझाव छ?
जति पनि नयाँ आउँदै हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने, लोकदोहोरी साँघुरो सानो क्षेत्र छ । यसबाट आफूले प्राप्त गर्ने होइन कि आफूले पनि लोकदोहोरीलाई के दिन सक्छु त ? यसलाई फराकिलो बनाउन के गर्न सक्छु त? भन्ने कुरालाई ध्यानमा राखेर आउनुहोला । केही सिकेर, बुझेर र अध्ययन गरेर आउनुहोला ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
सम्पूर्ण दर्शक तथा श्रोतालाई फेरि पनि नमस्कार । अब केही समय बेलायतमै रहनेछु । हजुरहरूको समय मिलेसम्म कार्यक्रममा आउनुहोला । मेरो कार्यक्रमको बारेमा सामाजिक सञ्जालमा पनि जानकारी गराउनेछु । मरेर जाने जिन्दगी हो । भेटघाट गरौँला । रमाइलो गरौँला । जीवनमा मेरो ठूलो उपलब्धि भनेको तपाईंहरूसँग भेट्ने र कुराकानी गर्ने नै हुनेछ ।