लन्डन । १७औँ रेडिङ कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) ले बेलायतको रेडिङस्थित पाल्मर पार्कमा आगामी ३१ अगस्टमा प्रतियोगिता गर्न लागेको हो ।
युवा (१८ वर्षमाथि), भेटेरान (३६ वर्षमाथि) र सुपर भेटेरान (४५ वर्षमाथि) गरी विधामा खेल हुनेछ। युथमा १६, भेट्रानमा १२ र सुपर भेट्रानमा ८ टिम गरी ३६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । युवातर्फका विजेताले २ हजार २४ पाउन्डका सातमा कप र प्रमाणपत्र पाउनेछन् । उपविजेताले १ हजार २४ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रवेश शुल्क २५० पाउन्ड राखिएको गत आइतबार संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।
भेटेरानका विजेताले १ हजार २४, उपविजेताले ५२४ तथा सुपर भेटेरानका विजेताले ५२४ तथा उपविजेताले ३२४ पाउन्डका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेटेरानको प्रवेश शुल्क २५० र सुपर भेटेरानको १५० पाउन्ड तोकिएको आयोजकले जनाएका छन् । दर्शकका लागि कार पार्किङ र प्रवेश नि:शुल्क गरिएको संस्थाका अध्यक्ष भीमसेन खड्काले बताए ।
युवाहरूलाई समेट्दै खेलकुदमार्फत समुन्नत समाज बनाउने उद्देश्य लिइएको अध्यक्ष खड्का बताउँछन् । प्रतियोगिता संयोजक भरत पौडेलका अनुसार यो फुटबल मात्र नभएर मेला पनि हो । संस्थाले विगत देखि नै बालबालिका र युवालाई प्रोत्साहन गरिरहेको जनाउँदै पौडेलले यस प्रतियोगिताबाट स्थानीय व्यापार व्यवसाय प्रवर्धन, खेलाडीलाई प्रोत्साहन र नेपाली कला संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलन मिडिया कोअर्डिनेटर सुवास चापागाईंले सञ्चालन गरेका थिए । आर्थिक संयोजक उपाध्यक्ष सुरेश थापाले आम्दानी र खर्च सम्बन्धमा जानकारी गराए । उपाध्यक्ष कल्पना पण्डितले त्यस दिन बालबालिकाले पनि नृत्य देखाउने जनाइन्। सल्लाहकार,पूर्वअध्यक्ष एवं रेडिङ कपका जन्मदाता महेश गुरुङले रेडिङ कपकाे इतिहासबारे जानकारी दिँदै प्रतियोगितामा उपस्थित भएर सफल पारिदिन बेलायतबासी नेपालीलाई अनुराेध गरे ।
भोलेन्टियर कोअर्डिनेटर मीन गुरुङले १६ वर्ष मुनिका भाइबहिनीले स्वयंसेवा गर्ने जनाए । भविष्यमा उनीहरूले नै यस्ता कार्यक्रमको जिम्मा लिउन् भन्ने आफूहरूको उद्देश्य रहेको उनको भनाइ थियो । स्वयंसेवक व्यवस्थापनको जिम्मा हिम्मत सिटौला र सुरेन्द्र उप्रेतीले पाएका छन् ।
उपाध्यक्ष यादव श्रेष्ठ र महिला उपाध्यक्ष कल्पना पण्डितलाई अतिथि सत्कारको जिम्मेवारी दिइएको छ । सो अवसरमा नेपाली पञ्चेबाजाको प्रस्तुति, भलिबल, निःशुल्क स्वास्थ्य शिविर, नाचगान, म:म, सेलरोटी जस्ता नेपाली परिकारका स्टल पनि हुनेछ । यसले रेडिङ कपलाई मेलाकै रूपमा मनाउने आयोजकको तयारी छ ।
संस्थाका तत्कालीन अध्यक्ष महेश गुरुङको नेतृत्वमा वर्तमान उपाध्यक्ष प्रेम गुरुङ, अर्जुन बस्नेत र सीबी गुरुङलगायत कार्यसमिति र सल्लाहकारको अगुवाइमा यो प्रतियोगिता २००६ मा सुरु भएको हो ।