पोखरा । हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शीर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ ।
सातौं संस्करणको मिस मगर नेपाल २०२४ को शीर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् ।
मिस मगर नेपालको शीर्ष प्रायोजन सम्झौता पत्रमा बिहीबार १५ अगस्ट २०२४ निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन्द्र) र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौं संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरुमध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर ( बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) रहेका छन् । अहिले मिस मगर नेपाल २०२४ का प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुबारे प्रशिक्षण भइरहेको छ ।
प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् । मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ ।