काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको छ ।
सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । साथै उनले सोसियलिष्ट इन्टरनेसनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी उहाँले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताएका थिए ।
उनले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए । नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले गत महिना काठमाडौँमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे । “नेपाल सरकार जर्मन लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने ।
सो अवसरमा जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएको उनको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
साथै उनले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसङ्घका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गरे । जर्मनीका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारो बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताएका थिए । साथै उहाँले नेपाली हवाई कम्पनीलाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यसपटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको बताए । दुईपक्षीय भेटवार्ता अघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।