लन्डन । पाँचथर समाज सेवा युकेका अध्यक्ष शान्ति लिम्बुको नयाँ कृति ‘कस्तुरी यात्रा’ बजारमा आएको छ । शनिबार बेलायतको फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा समाज सेवा युकेको वार्षिक भेलामा नेपाली दूतावासका द्वितीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पुस्तक लोकार्पण गरे । याक्थुङ लिम्बु परम्पराअनुसार च्याब्रुङ बजाएर केलाङ नाच्दै कस्तुरी यात्राको लोकार्पण गरिएको थियो ।
विशेष अतिथिहरू संगीतकार दिनेश सुब्बा, शान्ति कुँवर थापा, विस्वदिप तिगेला, मिलन तमु, नरकुमारी लिम्बू अनेम, कमला सेन्दाङ, युमा लिम्बू, गौरभ कन्दंवा, लालसुन्दर राई, जुरेन्द्र खजुम, टेकेन मादेन, गंगा खिम्दिङ र सल्लाहकारहरू र बेलायतवासी पाँचथरेहरूको उपस्थितिमा लोकार्पण भएको हो ।
संस्थाका महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तव्य राखेका थिए । लेखक एवं अध्येता विस्वदिप तिगेला र लेखक/ समिक्षक हेम्ब्याले कस्तुरी यात्राको समीक्षा गर्दै शुभकामना मन्तव्य राखेका थिए । ‘कस्तुरी यात्रा’ हाइकु, मुक्तक र गीतहरूको संयुक्त संग्रह हो । शान्तिको ‘मिलिजुली’ उपन्यासपछि यो दोश्रो कृति हो ।
समाज सेवाले पहिलो पटक पाँचथर अवार्डद्वारा चन्द्र सुन्दासलाई सम्मानसमेत गरेको छ । सो अवसरमा शिक्षा तथा खेलकुदमा सफलता हासिल गरेका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । लेखनमा नगेन्द्रराज नेम्बाङ, लिला सेलिङ माबो, र लिलाराज काम्बाङ, संगीत/कलामा वरिष्ठ संगीतकार दिनेश सुब्बा, दिपा योङ्या, इस्मिता तावालगायतले नयाँ म्युजिक भिडियोमा डेब्यु गरेकालाई सम्मान गरेका थिए । सांस्कृतिक कार्यक्रम पारु राईले सञ्चालन गरेकी थिइन् ।
नयाँ समितिबाट मनोनीत शुभ नेम्बाङ, सुक तुम्रोक, लिलाराज काम्बाङ र नयाँ आजीवन सदस्यलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । त्यसपछि सन्देश नेम्बाङ, नगेन्द्र र दिपा योङ्याले राफल ड्र सञ्चालन गरेर कार्यक्रम थप रोमाञ्चक पारेका थिए ।
चर्चित गायक गायक तारा लक्समको सांगीतिक प्रस्तुति र बाँसुरी बाधक टंक शेरचनले बाँसुरी बजाएर मन्त्रमुग्ध बनाए । यसका साथै कलाकारहरू प्रिया लिम्बू, हेलेन लिम्बू, रोजि राई, दिलिप लिम्बु र गुमान्सिङ माखिमको प्रस्तुतिसमेत रहेको थियो ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहयोगमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको अध्यक्ष लिम्बूले जनाएकी छन् ।