काठमाडौं । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले आफ्नो भवन निर्माणका लागि जग्गा खरिद गरेको छ ।
पोखरा महानगरपालिका १४ को चाउथे रातोडाँडामा जिफानले ६ आना २ दाम जग्गा खरिद गरेको हो । कुल ५० लाख रुपैयाँमा जग्गा खरिद गरिएको जिफानका कोषाध्यक्ष एवम् जग्गा खरिद तथा भवन निर्माण समितिका संयोजक अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार जग्गा खरिदबापतको रकमअन्तर्गत हाल २० लाख रुपैयाँ चुक्ता गरिसकिएको छ भने बाँकी रकम ३ महिनाभित्र चुक्ता गर्ने सहमति छ ।
विक्रम सम्वत २०७९ साल मंसिर २४ गते महासचिव लबसम गुरुङको संयोजकत्वमा सम्पन्न जिफान साँझबाट संकलित रकम र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट बाँकी रकम चुक्ता गर्ने जिफानले लक्ष्य लिएको छ । जग्गा खरिद गर्ने पहिलो चरणको कामसँगै भवन निर्माणको योजना पनि जोडिएर आएको जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले बताए । हालका लागि तीनकोठे अस्थायी संरचना निर्माण गर्ने र यही
वर्षभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने उनले बताए । भवन निर्माणका लागि युके, जापान, अष्ट्रेलिया, हङकङ, अमेरिकालगायतका विभिन्न मुलुकमा रहेका केही दाताहरुले आर्थिक सहयोगको बचन दिइसक्नु भएको उनले जानकारी दिए । जिफानको आफ्नै आन्तरिक श्रोत र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्ने जिफानको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू अर्थात गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा स्थापित गुरुङ फिल्म एशोसिएशन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भइ स्थापना भएको हो । गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरु निर्माण गर्ने गतिविधिहरु भने विक्रम सम्वत २०५२ सालदेखि नै सुरु भएको हो ।
जिफानमा आबद्ध गुरुङ चलचित्रकर्मीहरुले हालसम्म १९० भन्दा बढी गुरुङ चलचित्रहरु निर्माण गरिसकेका छन् ।