काठमाडौँ । नेपालले १० वर्षपछि मंगलबार आईसीसी टी२० विश्वकप क्रिकेट खेल्दै छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । गत कात्तिकमा काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भएको एशिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको थियो ।
नेदरल्यान्ड भने पाँचौँ पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीचको खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा हुँदैछ । नेपाल रहेको समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसँग जुन १६ मा खेल्नेछ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म भएका १२ टी२० खेलमध्ये नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्यान्ड्सविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।
त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी यस पटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।
अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् । त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।