लन्डन । यही मे २६ तारिखमा हुने २२औँ गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक तमु धीं युकेले शनिबार आफ्नै भवन द तमु नेप्लिज कम्युनिटी सेन्टर मिचिटमा आयोजिन पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
यस वर्ष गोर्खा कपमा ५० टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१औँ संस्करणमा ४२ टिमले प्रतिस्पर्धा गरेकामा भेट्रानतर्फ ८ टिम थपिएको हो। ८ टिम रहेको भेट्रानलाई यस वर्ष १६ बनाइएको छ।
गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गरे।
पत्रकार, तमु धींका कार्यसमिति, सल्लाहकार र केही विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा नयाँ स्पोर्टस् सेक्रेटरी तथा २२औँ गोर्खा कप संयोजक क्या. दिपक घलेले प्रतियोगिताबारे विस्तृत रूपमा प्रस्ट्याएका थिए ।
गोर्खा कपको उद्देश्य, आकर्षण, जिम्मेवारी, कार्य समूहको नियुक्ति, कार्ययोजना, समय रेखा, पुरस्कार, प्रायोजक, साइट लेआउट, खर्च, घटना सुरक्षा योजना, विविध बिन्दुबारे पावरपोइन्टबाट क्या. घलेले छर्लंग पारेका थिए ।
पत्रकारहरुको जिज्ञासालाई संयोजक घले र अध्यक्ष गुरुङले पूरा गरेका थिए । सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ र निवर्तमान अध्यक्षको संयोजकत्वमा टिम ड्र गराइएको थियो ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको परिचय र प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरेका थिए ।
तमु धीं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ उपाध्यक्ष पर्शु गुरुङ, उपाध्यक्ष कमल गुरुङ कोषाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङलगायत उपस्थित थिए ।
कार्यक्रममा बेलायतमा सञ्चालित विभिन्न सञ्चारमाध्यमका २५ जनाभन्दा बढी पत्रकारको उपस्थिति थियो ।
यसैबीच, यस वर्षको गोर्खा कपमा पुरस्कार राशि वृद्धि गरिएको छ । मुख्य टिमतर्फ ५०० पाउन्ड बढाएर ३ हजार पाउन्ड पुर्याइएको छ । भेटेरानतर्फ १२ सय पाउन्डबाट १५ सय पाउन्ड पुर्याइएको आयोजकले जनाएको छ । विजेता, उपविजतालाई नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र दिइनेछ । सबै विधाका उत्कृष्ट खेलाडी, टप स्कोरर, मुख्य टिम र भेटेरनतर्फ वेस्ट म्यानेजरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा मेन टिम ३२ (१६-३८ वर्ष उमेर समूह), भेट्रानतर्फ १६ टिम (४० वर्षमाथि) र महिला २ टिमले प्रतिस्पर्धा गर्ने छन् । टिम दर्ता अप्रिल १४ देखि मे ११ सम्म भइसकेको छ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टल पनि राखिने छन् ।