काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् ।
१५० जनाको भ्रमण दलसहित काठमाडौँ उत्रिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरे ।
स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत विमानस्थल पुगेका थिए ।
बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी थानी विशेष विमानबाट काठमाडौँ आएका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
कतारका अमिरले अहिले राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरिरहेका छन् । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रमसमेत छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।
उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो । कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।