पाँचथर । लेखकद्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबो पाँचथरमा सम्मानित भएका छन् ।
आयोयममा एक कार्यक्रमकाबीच यसै साता लेखकद्वय सेलिङलाई याङवरक गाउँपालिका ३ नम्बर वडा कार्यालयले सम्मान गरेको हो । लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पुर्याएकोमा लेखकद्वयलाई सम्मान गरिएको वडाअध्यक्ष बिमल राईले बताए । सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार द्वारालिखित ओयाम दर्पण र सेलिङपुत्री लिला माबोद्वारा लिखित याक्थुङ लिम्बू भाषाको कविता कृति सेप्माङ्लकको चर्चा गरिएको थियो ।
पुस्तकमाथि प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङ्बोले समिक्षात्मक टिप्पणी राखेका थिए ।
बेलायतवासी गीतकार तथा लेखक लीला सेलिङ माबोको कविताकृति ‘सेप्म्माङ्लक’ गत चैत १७ गते शनिबार लोकार्पण गरिएको होछ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ले सेलिङको नयाँ कविताकृति विमोचन गरेका थिए । त्यस क्रममा उनका बुबा भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृतिसमेत सार्वजनिक गरिएको थियो ।
सेलिङले 'सीमाना', आधा दर्जन गीत रेकर्ड गरिसकेकी छिन् भने अन्य विभिन्न पुस्तकहरु पनि बजारमा ल्याइसकेकी छन् । उनको ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, सँगै सुब्बा सुभाङी र निशानबारे खोजमूलक लेखहरु प्रकाशित छन् ।
लीला बेलायतमा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सरीबाट बिएस्सी अनर्ससमेत गरेकी छन् ।
यस्तै स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले विमोचन गरेका थिए । कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओडारी तृतीय भएका थिए । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।