कास्की । नयाँ वर्ष २०८१ सालको अवसर पारेर पोखरामा आयोजित ‘लेखनाथ हाफ म्याराथन’को उपाधि सेनाका सञ्जय श्रेष्ठले जितेका छन् ।
श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी उपविजेता बने । उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाए ।
सेनाका रामजी बस्नेत एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर तेस्रो बन्दै २० हजार पुरस्कार पाए । सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौ भए । उनीहरूले क्रमशः १० हजार रु पाँच हजार पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए ।
म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गर्नुभएका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गर्दै १० हजार पुरस्कार पाए । ।
यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए ।
यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भए ।
महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार पाए । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
म्याराथन पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखराको साविक लेखनाथमा आयोजना गरेको हो ।