लन्डन । भूतपूर्व गोर्खाहरूको माग सम्बोधनबारे त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा लन्डनस्थित दूतावासमा छलफल भएको छ।
वार्तामा गोर्खाको प्रतिनिधित्व गर्ने ‘जी टेन समूह’ र दूतावासका अधिकारीबीच सोमबार छलफल भएको हो। गोर्खाहरूको मुद्दामा अर्को चरणको त्रिपक्षीय वार्ताअन्तर्गत बुधबार ‘वर्किङ कमिटी’ स्तरको वार्ताका हुँदैछ। सोमबारको बैठकमा उक्त वार्ताको एजेन्डाबारे छलफल भएको दूतावासले जनाएको छ। दूतावासका अनुसार अबको वार्ता समान पेन्सनकै एजेन्डामा केन्द्रित हुनेछ।
वार्तामा गोर्खाको तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, अनसनकर्ता पुष्पा राणा घले र मेजर उदयबहादुर गुरुङले प्रतिनिधित्व गर्ने पनि सोमबारको बैठकले निर्णय गरेको छ। यसअघिको वार्तामा बेलायती मन्त्रीको समय अभावका कारण पेन्सनसम्बन्धि विषय प्रवेश नै हुन सकेको थिएन। इमिग्रेसन, वेल्फेयर, एनएचएसलगायत विषयमा छलफल भएको थियो। यस पटक भने शुरूमा नै पेन्सनको कुरा गर्ने निर्णय भएको छ।
छलफलमा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैन्य सहचारी अनुप शाह, गोर्खाको तर्फबाट वार्ता नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई र उपसभापति धर्म तामाङ, ब्रिटिस गोर्खा इन्जस्टिस ग्रुपका अध्यक्ष मेजर उदयबहादुर गुरुङ, बीजीडब्लूएसका ओमेन्द्र गुरुङ, आमरण अनसनकर्ता पुष्पा राणा घलेलगायत सहभागी थिए।
बुधबार हुने वर्किङ कमिटी स्तरको वार्तामा बेलायतका रक्षा र गृह मन्त्रालयका अधिकारी, नेपाली दूतावासकी उपनियोग प्रमुख खनाल र सैन्य सहचारी अनुप शाहसहित तीन जना गोर्खा प्रतिनिधि सहभागी हुनेछन्।