पोखरा । कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ ।
पञ्चासे आदर्श क्लबको आयोजनामा यही मंसिर २३ देखि २५ गते (डिसेम्बर ९ देखि ११ तारिख) सम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडास्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो । मेलालाई आकर्षक बनाउन विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगितासमेत हुनेछन् ।
भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भीड लाग्ने हुँदा यहाँको छुट्टै पहिचान रहेको मेलाका प्रचारप्रसार संयोजक ईश्वर घलेले बताए । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन खेल प्रतियोगिताको आयोजना गरिँदै आएको उनको भनाइ छ ।
पोखराबाट नजिकै रहेको शान्त जहाँ हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘सुनाखरीको राजधानी भनेर पनि पञ्चासेलाई चिनिन्छ । जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ । विशेषगरि प्राकृतिक सौन्दर्यता नियाल्न पनि पञ्चासे एक पटक आउनुपर्छ,’ पौडेलले भने ।
पञ्चासे समुद्र सतहदेखि २ हजार ५१७ मिटर उचाइमा छ । त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।