लन्डन । गोर्खा भूतपूर्व सैनिकहरूको विभिन्न समस्या समाधानबारे बुधबार भएको तेस्रो मन्त्रिस्तरीय वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
नेपाल र बेलायतका अधिकारीबीच बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा बुधबार दिनभर भएको वार्ता पुनः बस्ने गरी टुंगिएको वार्ताका सहभागीले जनाए ।
वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरेका छन् । साथै, सदस्यमा नेपालका तर्फबाट यसअघिका वार्तामा भाग लिँदै आएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राई र गेसो उपसभापति धर्मबहादुर तामाङ छन् । उता, बेलायतका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले नेतृत्व गरेका छन् ।
समान पेन्सन आफ्नो पहिलो शर्त रहेको भूपू गोर्खाहरु बताउँछन् । पेन्सनको माग टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडि बढाउनु पर्ने उनीहरूको अडान छ । बुधबारको वार्तामा पनि आफूहरुले बेलफेयरभन्दा पेन्सनलाई नै प्राथमिकता दिएको वार्तामा सहभागी मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अर्को वार्तामा पेन्सनको विषयमा छलफल हुनेछ ।
अर्को वार्ता कहिले बस्ने भन्ने यकिन भइसकेको छैन । मन्त्रीसँग सल्लाह गरेर अर्को वार्ता बस्ने जनाइएको छ।
बहुप्रतिक्षित यो वार्तालाई गोर्खा भूतपूर्व सैनिकहरुले निकै महत्वका साथ हेरेका छन् । बहुसंख्यक भूपू गोर्खाहरु वार्तास्थल रक्षा मन्त्रालय अघिल्तिर दिनभर धर्ना दिएर बसेका थिए । उनीहरुले वार्ताको परिणाम के आउला भनी निकै चासोका रुपमा लिएका हुन् । तर, वार्ता बिनानिष्कर्ष बनेपछि केही भूपूहरु आक्रोशित बनेका थिए ।