लन्डन । झण्डै ५ महिना बेलायत बसाइपछि चर्चित लोक तथा गायिका पूर्णकला बीसीले बेलायत छोड्ने छोड्दै छिन् ।
गायिका बीसीले आफ्नो बिदाइका लागि यही १९ नोभेम्बर आइतबार अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेन्टमा बिदाई तथा सांगीतिक कार्यक्रम आयोजना गरेको जानकारी गराएकी छन् । कार्यक्रम बेलुकी साढे ६ बजेदेखि सुरु हुने जनाउँदै उनले लोक पारखी बेलायतवासी नेपालीहरुलाई उपस्थित हुन अनुरोध गरेकी छन् । उनी मानव सेवा आश्रमको सहयोगार्थ वोकिंग नेपाली समाज युकेको आयोजनामा आगामी अगस्ट ६ मा भएको बृहत् सांस्कृतिक साँझ–२०८० मा भाग लिन गत जुलाइ १८ मा युके आएकी हुन् । उनले बेलायतमा रहँदा थुप्रै नेपाली समुदायका कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् ।
गायिका बीसी करिब १५ वर्षदेखि लोक तथा दोहोरी क्षेत्रमा निरन्तरता दिइरहेकी छन् । अत्यन्त मीठो आवाजकी धनी अर्थात् नामजस्तै गायन कलाले पनि पूर्ण छिन् बीसी । गायिका बीसी २०४५ साल फागुन १२ गते बर्दियाको गुलरिया नगरपालिका-१ जानकीनगर खैरापुरमा जन्मिएकी हुन् । उनी वीरबहादुर विश्वकर्मा र दिलसरी विश्वकर्माकी छोरी । सानैदेखि गीत संगीतमा रुची राख्ने बीसी गाउँमै पढलेख गरेर २०६५ सालमा काठमाडौं पसिन् । त्यतिबेलादेखि लोक तथा दोहोरी क्षेत्रमा खटिरहेकी बीसीले अहिलेसम्म निरन्तरता दिइरहेकी छन् ।
गायन क्षेत्रमा दौरानबीच उनले विभिन्न अवार्ड र पुरस्कार पाइसकेकी छन् । यस बीचमा डाँडै बिसौनी, मायालुको सहरमा, हो, भन निरमाया आउँछेउ आउँदैनौं, पिरती नलाउँ माया, रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला, झमझम पानी परेको रात, तीज गीत उफ्रि उफ्रि नाँच्न मन छैनलगायत ५ हजार वटाभन्दा बढी गीतमा स्वर भरिसकेकी छन् । मञ्चीय कार्यक्रम त हजारौं भ्याइसकिन् ।
नेपालमात्रै होइन विश्वका मलेसिया, कतार, दुबई, कुवेत, अस्ट्रेलिया, जापानलगायत देशमा पनि उनी पुगिसकेकी छन् । कास्कीको अर्मला कर्मघर रहेको बीसी हाल श्रीमान्, छोरीसहित काठमाडौं बस्छिन् । उनले बुटिक पसलसमेत सञ्चालन गरेकी छन् ।