लन्डन । तमुधिं यूकेले डा. हर्क गुरुङ र डा. चन्द्र गुरूङको स्मृति दिवस मनाएको छ ।
यही शनिबार २३ सेप्टेम्बर २०२३ मा मिचेटमा रहेको तमुधिं भवनमा एक कार्यक्रमबीच तमुधिं यूकेका प्रथम संरक्षक तथा भूगर्भविद् डा. हर्क र प्रकृति संरक्षणका अगुवा डा. चन्द्रप्रसादलाई सम्झना गरिएको हो । दिवसका अवसरमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङलगायत सहभागीले डा. हर्क र चन्द्रको तस्बिरमा फूल र खादा अर्पण गरे ।
कार्यक्रममा तमुधिं यूकेका ट्रस्टी जीत गुरुङले डा. हर्क र पूर्वअध्यक्ष नन्दजंग गुरुङले डा. चन्द्र गुरुङले समाज र समुदायमा पुर्याएको योगदान र उनीहरुको व्यक्तित्वबारे बोलेका ट्रस्टी एकेन्द्र गुरुङले जानकारी दिए ।
अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव विमल गुरुङले गरेका थिए । सोही अवसरमा तमुधिं यूकेको तर्फबाट डा. हर्क गुरुङ फाउन्डेशनलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा तमुधिं यूकेका ट्रस्टी, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकार, आजीवन सदस्य, पदाधिकारी, कार्यसमिति सदस्यहरु र आमा समूह आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।
डा. हर्क र चन्द्रद्वयको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको दिनको सम्झनामा तमुधिं यूकेले हरेक वर्ष स्मृति दिवस मनाइँदै आएको छ ।
स्मृति दिवस सकिनासाथ तमुधिंले तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु गरिब जेहेन्दार छात्रछात्राहरुको पठनपाठनको सहयोगार्थ परोपकारी रात्रिभोजको आयोजना गरेको थियो ।
स्मृति दिवस कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै अध्यक्ष गुरुङले कार्यक्रम सम्पन्न गरेका थिए ।