पोखरा । नेपालको हिमालीपारिको जिल्ला मुस्ताङको कागबेनीमा आइतबार राति लेदोसहितको बाढीले कागबेनी खण्डहर बनेको छ । नेपालमा कमैमात्र पानी पर्ने भनी चिनिने मुस्ताङमा अविरल वर्षासँगै कागखोलामा आएको बाढीले ३ दर्जन बढी घरमा क्षति पुगेको छ । २९ घर त पूर्ण रुपमा क्षति भएका छन् ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले क्षतिको विवरण संकलनसँगै घर बगाएकाहरुमध्ये ३० देखि ४० जनालाई उद्धार गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ को समाजघरमा स्थनान्तरण गरिएको बताए । विपत् उनीहरुको खानपीनको व्यवस्था गाउँपालिकाले गर्ने सोमबार दिउँसो विपत् व्यवस्थापन समितिले निर्णय गरेको छ । १ सय ५० जना कामदार बिस्थापित भएकोमा उनीहरुलाई जोमसोममा सारिएको छ ।
प्रहरीले संकलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार २९ घर पूर्णरुपमा र १३ घरमा आंशिक क्षति भएका हुन् । १ पक्की पुल, ३ काठे पुल, १ झोलुङ्गे पुल, १ स्काभेटर, ३ मोटरसाइकल, २ चारपाङ्ग्रे गाडी बाढीमा बगेका छन् ।
कागखोलाको बाढीले कागबेनीको तटीय बस्ती जलमग्न भएकोले अझै पनि सुरक्षाकर्मी सहयोगमा सामानहरु सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । मुक्तिनाथ माथिबाट बग्ने कागखोला, झोङबाट बग्ने खोलाको बाढी कागबेनीमा आएर यसरी ठूलो भौतिक क्षति पुगेको हो ।
बाढी आएको तत्काल खबरपछि मानिसहरु घर छोडेर सुरक्षित स्थानमा लाग्दा मानवीय क्षति भने हुन नपाएको प्रजिअ केसीले बताए । झोङमा बाढी आएको भन्ने कुरा तत्कालै थाहा भएपछि कागबेनी सहित तटीय क्षेत्रमा सूचना पु¥याइएको थियो । त्यस क्षेत्रमा सम्भावित क्षति अनुमानसँगै नेपाली सेना पनि खटिसकेका थिए ।
हेर्दाहेर्दै घर बग्दा रातिको बेलामा उद्धार कार्यमा कठिनाइ भएको वारागुङ मुक्तिक्षेत्र अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । उनका अनुसार मुक्तिनाथ क्षेत्रबाट राति ७ बजेतिर आएको बाढी कागबेनी प्रवेश गर्दा साढे ७ बजेर ४५ मिनेट गएको थियो ।
मुस्ताङमा यतिखेर यातायात सम्बन्ध बिच्छेद हुँदा इन्धनसँगै खाद्यान्न अभाव छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेलबाढीबाट विस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाएका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघसंस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे ।
सोमबार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक डाँकेर उनले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेका हुन् ।