लन्डन । २/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको वार्षिक भेला सम्पन्न भएको छ ।
पाकिस्तानी कम्युनिटी सेन्टर रेडिङमा २२ जुलाई २०२३ शनिबार हर्षोल्लासपूर्ण उक्त भेला सम्पन्न भएको हो । झन्डै ४५ जना सहभागी भएको भेला ढकबहादुर र सुशीला गुरुङले गरेका थिए । गत वर्षको वार्षिक भेला बेजिङ्गस्टोकमा लालप्रसाद गुरुङ बीईएम र सुधा गुरुङले आयोजना गरेका थिए ।
होममेड सेलरोटी, बिबिक्यूसहितको स्वादिष्ट खानपान, दिदीबहिनीहरुको अचार प्रतियोगिता, सबैका प्रिय पात्र सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग, नाचगान, राफल ड्र साथै विविध खेलहरु खेलेर मनोरन्जन गरिएको थियो । विगतका वर्षहरुमा झैं सरोज बस्नेतले मनोरन्जनको जिम्मा लिएका थिए । उनको लाईभ प्रस्तुति साथमा चित्र आले, डम्मरसिंग सुनवार, पूर्ण पुन, डेविड मुखियाका साथै लालप्रसाद गुरुङले गोपाल योञ्जनको सदावहार राष्ट्रिय गीत 'बनेको छ पहराले यो छाती मेरो...'गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
त्यस्तै २/२ को प्रतिभाको डबलीमा कविहरुको पनि कमि थिएन । गोमा राना, लक्ष्मीप्रसाद शर्माले मीठामीठा कविता वाचन गरेपश्चात् भीम रानाले पनि पहिलोपल्ट अंग्रेजीमा कविता वाचन गरी सबैलाई चकित पारेका थिए । कार्यक्रममा ढकबहादुर गुरुङले शाही सम्बोधनको क्यारी केचर हुबहु गरी सबैलाई थप दंग पार्न सफल भएका थिए ।
कार्यक्रमको मध्यान्तरमा बाबुजीहरुलाई श्रीमतीहरुले स्पेशल सरप्राइज दिने कार्यक्रम थियो, जुन कुरा उनीहरुमाझ पूर्णत: गोप्य राखिएको थियो । पूर्वयोजनाअनुसार मुख्य आयोजक सुशीला गुरुङको उर्दीबमोजिम बाबुजीहरुको आँखामा पट्टि बाँधेर कुर्सीमा बसाइ श्रीमतीहरुले अगाडिपट्टि २/२ जीआर क्लर्क्स प्लाटून अनि पछाडिपट्टि २/२ गोर्खा राईफल्स लेखिएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउँदा सबै बाबुजीहरु आश्चर्यचकित एवम् हर्षविभोर अनि भावुक बनेका थिए । नहोउन् पनि किन ? आफ्नो जीवनको आधा उमेर, आफ्नो जीवनको उर्वर समय जुन पल्टन र पल्टने साथीहरुसँग बिताए उनीहरुसग अत्यन्त अन्तरंग सम्बन्ध हुनु स्वाभाविकै हो । पल्टनेहरुलाई आफ्नो पल्टन, आफूसँगै भर्ती भएका नम्बरीहरु र आफ्नो प्लाटूनप्रति विशेष मोह हुन्छ । त्यसमा पनि २/२ जीआरका बाबुजीहरुको बोन्डिङ्ग ब्रिगेड अफ गोर्खाजमै उदाहरणीय र अनुकरणीय रहेको पाइन्छ ।
यस पालीको थप आकर्षण १९८१ सालमा अवकाश प्राप्त गरेका २/२ जी आर क्लर्क्स प्लाटूनका सबैभन्दा सिनिएर सदस्य स्व. क्याप्टेन धनबीर क्षत्रीकी श्रीमती पवित्र क्षत्री र छोरा विवेक क्षत्री थिए, यसरी आफ्नो प्लाटून सम्झेर पबित्र दिदी र छोरा आएकोमा सबैले न्यानो स्वागत अनि आभार व्यक्त गरेका थिए ।
बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम सबैले अत्यन्त रमाइलो मान्दामान्दै कति बेला रातिको ९ बज्यो पत्तो पाएनन् । अन्तत: भेटिएपछि छुटिनु पर्ने संसारको रितअनुसार रातको ९.३० बजेतिर सबैले सफाई गरी, मुख्य आयोजक रेडिङ निवासी ३ दम्पतीहरु ढकबहादुर-सुशीला गुरुङ, कृष्ण-डिम्पी गुरुङ र समुन्द्र-ध्रुव गुरुङलाई धन्यवाद र आभार व्यक्त गर्दै फेरि अर्को वर्ष भेट्ने वाचासहित बिदा भएका थिए ।