लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी २२ जुलाईमा हुने चुनावको सरगर्मी ह्वात्तै बढेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका दिनेश घिमिरे आगामी नेतृत्वको लागि चुनावी मैदानमा होमिएका छन् ।
बेलायतवासी नेपाली समुदायमा परिचित घिमिरे विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । आजभन्दा २० वर्षअघि एनआएनमा संलग्न उनी युकेमा संस्था गठन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी सन् २००७ देखि ०२१ सम्म एनआरएनए युकेको नियमित सल्लाहकार, अन्तर्राष्ट्रिय कमिटीमा २०१७–१९ कार्यसमितिमा आर्थिक समितिको सदस्य, २०१७ देखि ०२१ सम्म नेपाल प्रवर्धन समितिको सदस्य, वर्तमान आइसीसी सदस्य बनेका थिए । उनले पाँचबुँदे आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका न् ।
नेपालको पूर्वी ताप्लेजुङको साविक सिकैचा ६ (हाल श्रीजङ्गा–३) मा उनको जन्म भएको हो । उनी पद्मप्रसाद तथा भीमकुमारी घिमिरेको सुपुत्र हुन् । प्रारम्भिक शिक्षा ताप्लेजुङ र झापामा पूरा गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरेका छन् भने युनिभर्सिटी अफ लन्डनबाट एमएसी इकोनोमिक्स र एमबिए पूरा गरेका छन् ।
साथै, एड्भान्स डिप्लोमा इन प्रोफेस्नल मार्केटिङ तथा सिम्याप एण्ड डिप्लोमा इन कम्प्युटिङ नेटवर्क उनको व्यावसायिक दक्षता हो । २३ वर्षकै उमेरमा राष्ट्रिय उद्योगको कार्यकारीको अनुभव बटुलेका उनी मझौला उद्योगको सञ्चालन गरे । बेलायतमा उच्च शिक्षा संस्थानको संचालन, आर्थिक परामर्श कम्पनीको संचालक र ठूलो विदेशी लगानीकर्ता अमेरिकन कम्पनीको परामर्शदाता हुन् ।
सामाजिक कार्यमा रुची राख्ने घिमिरेले माध्यमिक अध्ययनको क्रममा रेडक्रस र स्काउटमा कार्य गरेका छन् । यस्तै, माध्यमिक अध्ययनको क्रममा बिद्यार्र्थी तथा युवा संघको जिल्लास्तरिय नेतृत्व, मानवअधिकार नेटवर्क झापाको सचिव, जियोग्रफिकल सोसाइटीको सचिव, अंग्रेजी लिटरेरी समाजको संयोजक, बेलायतमा सामाजिक सचेतनाको नेतृत्व गर्दै विभिन्न संघसस्थामा सल्लाहकार, ग्रीनवीच फोरम नेपालको सस्थापक महासचिव बने । साथै नेपाली प्रजातान्त्रिक मंच (हालको प्रवाशी नेपाली मञ्च) उनी पूर्व अध्यक्ष समेत हुन् ।
नेपाली तथा अंग्रेजीमा विविध लेखरचना प्रकाशित तथा विभिन्न मुखपत्रहरुको सम्पादन तथा प्रकाशन गरेका उनले नेपाल सरकार योजना आयोग तथा संसदमा अधिकृत सो सरह सेवा प्रदान गरेका छन् ।
यही हुन् चुनावी एजेण्डा
अध्यक्षका उम्मेदवार दिनेश घिमिरेका पाँचबुँदे चुनावी प्रतिबद्धतामा विशेषगरी ३ क्षेत्रमा काम गर्ने अठोट छ । उनले संस्थागत सुधार, बेलायतवासी नेपालीबीचको सामाजिक सद्भाव अभिवृद्धि र सामाजिक अभियानको निरन्तरतासहितका प्रमुख ३ क्षेत्रमा काम गर्ने आफ्नो अठोट व्यक्त गरेका छन् ।
उनले संस्थागत विकास र सुदृढ संगठन, पूर्व गोर्खाज, सम्पत्तिको सुरक्षा र नागरिकताको निरन्तरता, नेपाली विद्यार्थी–हाम्रो सरोकार समेटेका छन् । यसैगरी, आजको युवा भोलिका भविष्य र लगानीको अवसर विज्ञताको कदर शीर्षकमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनले पूर्व गोर्खाहरुको मुद्दामा जारी त्रिपक्षीय वार्ता तार्किक र उपलब्धिमूलक निष्कर्षमा पु¥याउन पहल गर्ने, पूर्व गोर्खा परिवारका वृद्ध वृद्धाहरुको सहयोगका लागि हेल्प डेस्क सञ्चालन गर्ने, गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण अधिकारयुक्त बनाउन तथा गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षाका लागि नेपालको संसद तथा सरकारसंग निरन्तर पहल गर्ने बताएका छन् ।
साथै, संस्थागत विकास र सुदृढ संगठनको एजेण्डाअन्तर्गत निर्वाचित कार्यसमितिको निर्देशन र अनुगमनमा कार्यालय सञ्चालन गर्ने, उक्त कार्यालयबाट आमसदस्यका सरोकारका समस्याहरु समाधानको पहल गर्ने, सदस्यता बाह्रै महिना खुला राख्ने, परोपकारी कार्यहरुको संयोजनका लागि विधानको परिकल्पनाअनुसारको एनआरएनए फाउन्डेसन शुरु गर्ने, संगठनको ढाँचा र कार्यशैलीमा पुनर्विचार गर्दै संस्थालाई समयसापेक्ष बनाउने एजेण्डा घिमिरेले अघि सारेका छन्।
अध्ययनका क्रममा २ वर्षभन्दा लामो समय विदेशमा बस्ने नेपाली विद्यार्थीलाई एनआरएनएको सदस्यता दिलाउने, विद्यार्थीलाई आवश्यक सहयोग र जानकारी उपलब्ध गराउनेदेखि विभिन्न क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका स्कलर, युवालगायतको पहिचान गरी उनीहरुलाई विभिन्न कार्यक्रममार्फत नेपालको हितमा हुने गरी परिचालन गर्न पहल गर्ने पनि प्रतिबद्धता गरेका छन् । एनआरएनए यूकेको आन्तरिक विवाद समाधानका लागि सबै पक्षसंग छलफलका लागि तयार रहने तर प्रक्रियाभन्दा बाहिर गएर सहमति खोज्न नसकिने उनले स्पष्ट पारेका छन् ।