लन्डन । मेडवेले सशस्त्र बल दिवस (Armed Forces Day) २०२३ भव्यताका साथ मनाएको छ ।
नेपाली मूलकी मेयर काउन्सिलर नीना गुरुङको प्रमुख आतिथ्यतामा शनिबार २५ जून २०२३ का दिन जिलिङ्घमको ग्रेट लाइन्स हेरिटेज पार्कमा सशस्त्र बल दिवस मनाइएको हो । कार्यक्रममा सशस्त्र सेनाका सदस्यहरू, दिग्गजहरू र मेडवेका बासिन्दाहरू सशस्त्र बल दिवस मनाउन ठूलो संख्यामा उपस्थित भए । कार्यक्रममा प्रवेश नि:शुल्क गराइएको थियो ।
युकेमा सशस्त्र सेनाको कामको सम्मान गर्न जुन महिनाको अन्तिम शनिबार सशस्त्र सेना दिवस मनाइन्छ । विविध कार्यक्रमसहित सैन्य परेड, सैन्य सवारी साधन, हातहतियार, उपकरणहरूको प्रदर्शन र सशस्त्र सेनाका सदस्यहरूलाई भेट्नेलगायत विभिन्न किसिमका रमाइलो मेला, लाइभ संगीत र खानाका स्टलहर उपलब्ध थिए ।
प्रमुख अतिथि मेयर काउन्सिलर निना गुरुङले कार्यक्रम अत्यन्तै सफल भएको बताइन् । उनले भनिन्, 'निकै राम्रो दिन थियो, हाम्रा सशस्त्र बलहरूका लागि धेरै मानिसहरू आफ्नो समर्थन देखाउन बाहिर निस्केको देख्न पाउँदा धेरै राम्रो लाग्यो । हामी हाम्रा सेनाहरूको सेवा र बलिदानको लागि धेरै आभारी छौं र यो कार्यक्रम धन्यवाद भन्ने र आभार व्यक्त गर्ने सानो तरिका हो ।' सशस्त्र बल दिवसमा बेलायतमा भएका अन्य कार्यक्रमहरूमा लन्डन, एडिनबर्ग, कार्डिफ र बेलफास्टमा परेड र सेवाहरू सम्पन्न भए ।
कार्यक्रममा शाही नौसेना, रोयल एयर फोर्स, क्याडेट फोर्सहरू, भेटेरान समुह र ब्रिटिस सेनाको एकाइहरुको सैन्य परेड, ट्याङ्क र हेलिकप्टर प्रदर्शनसहित सैन्य सवारी साधन र उपकरणको प्रदर्शन, सशस्त्र बलका सदस्यहरूलाई भेट्ने र उनीहरूको कामको बारेमा जान्ने अवसरहरु, रमाइलो मेला, कन्सर्ट ,र खाना तथा पेयका स्टलहरू उपलब्ध थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा, पूर्व गोर्खा र तिनका परिवार र विभिन्न युनिटमा सेवारत गोर्खालीहरुको पनि बाक्लो उपस्थिति थियो ।